एमाले ११औँ महाधिवेशन : २२ घण्टापछि मतदान सम्पन्न, नतिजाको प्रतीक्षा
  • प्रमुख खबर

पौष ३, काठमाडौं ।।
नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया २२ घण्टापछि सम्पन्न भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान पौने ७ बजे समाप्त भएको हो।

लामो समयसम्म चलेको मतदान प्रक्रियाले महाधिवेशनलाई अझै ऐतिहासिक र चासोपूर्ण बनाएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन्। बाँकी ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका थिए।

यसपटक एमालेको चुनावमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गरिएको थियो। तर एक प्रतिनिधिलाई मतदान गर्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टासम्म समय लागेको केही नेताहरूले बताएका छन्।

केन्द्रीय कमिटीका ३ सय १ पदका लागि सबै पदमा मतदान गर्नुपर्ने व्यवस्था र प्रतिनिधिले आ-आफ्नो प्यानल अनुसारको सूची हेरेर मत हाल्नुपर्ने भएकाले मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो भएको निर्वाचन समितिले जनाएको छ।

एमालेको केन्द्रीय कमिटीका ३ सय १ पदका लागि कुल ६ सय ३ जनाले उम्मेदवारी दिएका थिए । जसले गर्दा पार्टीभित्रको यसपटकको आन्तरिक प्रतिस्पर्धा निकै कडा र रोचक देखिएको छ।

यस्तै पदाधिकारी तहमा पनि प्रतिस्पर्धा रोचक बनेको छ।
जसमा अध्यक्ष पदका लागि २ जना उम्मेदवार, ५ जना उपाध्यक्ष पदमा ११ जना, महासचिव २ जना, ३ उपमहासचिवका लागि ७ जना र ९ सचिवका लागि २० जनाले उम्मेदवार दिएका थिए ।

यस महाधिवेशनको सबैभन्दा चासोको विषय भनेको पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको प्रतिस्पर्धा रहेको छ।

दुवै नेताहरू छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्, जसले नेतृत्व चयनलाई अझ रोचक र निर्णायक बनाएको छ।

त्यस्तै निर्वाचन समितिले मतगणना प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको र आजसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

यस महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै एमालेको भावी राजनीतिक दिशा र संगठनात्मक संरचना कस्तो बन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। यसको साथै सबैभन्दा बढी ध्यान यतिबेला एमालेको भावी अध्यक्ष काे बन्छ भन्ने पनि रहेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्