पौष ३, काठमाडौं ।।
नेकपा एमालेका अनुभवी नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट औपचारिक रूपमा विदा लिने घोषणा गरेका छन् ।
शुक्रबार(आज) सामाजिक सञ्जालमार्फत आफूले करिब ५० वर्ष लामो राजनीतिक जीवनको एक अध्याय समाप्त गर्दै अब पार्टीको कुनै पनि पद, कमिटी वा औपचारिक जिम्मेवारीमा नरहने निर्णय सार्वजनिक गरेका हुन् ।

अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय रहँदै पार्टी, समाज र देशका हितका लागि समर्पित भएको उल्लेख गरेका छन्।
हाल ६६ वर्षको उमेर पुगेको जनाउँदै उनले अब नेतृत्व तहमा रहने भन्दा पनि पार्टीको साधारण सदस्यका रूपमा वैचारिक र नैतिक समर्थन कायम राख्ने बताए।
उनले भने“अब म कुनै कमिटी वा निकायमा रहने छैन तर एमालेको साधारण सदस्यका रूपमा पार्टी, समाज र राष्ट्रका पक्षमा जहाँ आवश्यक पर्छ, त्यहाँ आफ्नो भूमिका निर्वाह गर्नेछु ।”
राजनीतिक जीवनको मूल्यांकन गर्दै अधिकारीले आफूले इमान, निष्ठा र त्यागलाई मूल मन्त्र बनाएर राजनीति गरेको दाबी गरेका छन्।
पार्टी र जनताको सेवामा तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको उल्लेख गर्दै उनले राजनीतिक यात्रामा कहिल्यै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको पछि नलागेको सामाजिक सञ्जाल मार्फत नै स्पष्ट पारे ।
नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्यको रूपमा योगदान दिए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको उनको भनाइ छ।
नेतृत्वप्रतिको लोभभन्दा पनि संगठन सुदृढीकरण र वैचारिक स्थिरतालाई प्राथमिकता दिएको उनको सन्देशमा झल्किन्छ। तनहुँमा जन्मिएका अधिकारी एमालेभित्र संगठन निर्माण र कार्यकर्ता व्यवस्थापनमा गहिरो अनुभव बोकेका नेताका रूपमा परिचित छन् ।
पार्टीको ११औँ महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवारी नदिएर उनले राजनीतिक नैतिकता, त्याग र अनुशासनको स्पष्ट सन्देश दिएका थिए।
अघिल्लो कार्यकालमा उनले पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्य सम्पादन गरेका थिए।
उक्त भूमिकामा रहँदा संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा पार्टी संरचना सुदृढीकरणमा उनको महत्वपूर्ण योगदान रहेको पार्टीभित्रका नेताहरुले बताएका छन्।
दीर्घ समयसम्म पार्टी र संगठन निर्माणमा सक्रिय अधिकारीको सक्रिय राजनीतिबाट विदा लिने निर्णयलाई एमालेभित्र सम्मान, आत्ममूल्यांकन र पुस्तान्तरणको उदाहरणका रूपमा हेरिएको छ।
उनको निर्णयले नेतृत्व तहमा पुग्न चाहने नयाँ पुस्तालाई पदभन्दा पार्टी ठूलो हुने संस्कारको सन्देश दिएको केही जानकारहरुले बताएका छन्।
पाँच दशक लामो राजनीतिक यात्रामा विभिन्न उतार–चढाव झेलेका अधिकारीको योगदान एमालेको संगठनात्मक इतिहासमा स्थायी रूपमा अंकित रहने अपेक्षा गरिएको छ।
सक्रिय राजनीतिबाट विदा लिए पनि उनको अनुभव, विचार र योगदान पार्टीका लागि मार्गदर्शक बन्ने विश्वास गरिएको छ।










