सभामुखको कुर्सीका लागि शक्ति संघर्ष, मधेस प्रदेशमा आज निर्णायक दिन
  • प्रमुख खबर

Oplus_131072

पौष ६, जनकपुर ।।
मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आइतबार(आज) निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि सत्ता पक्ष र प्रतिपक्षबाट गरी दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

यादवको उम्मेदवारीलाई सत्तारूढ गठबन्धनका प्रमुख दलहरूको समर्थन रहेको छ। उनको प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह रहेका छन् भने समर्थकमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो रहेका छन्।

यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले सभामुख पदका लागि उम्मेदवारी दिएका छन्।

प्रसादको उम्मेदवारीलाई एमालेले औपचारिक समर्थन गरेको छ। उनको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य शारदा देवी थापा तथा समर्थकमा प्रदेशसभा सदस्य जयचन्द्रप्रसाद पटेल रहेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ। प्रस्तावमाथि छलफलपछि मतदान प्रक्रिया अगाडि बढाइनेछ।

सभामुख पद मधेस प्रदेशको विधायी प्रक्रियामा अत्यन्त महत्वपूर्ण मानिन्छ। सभामुख चयनसँगै प्रदेशसभा बैठकलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय बजेट, कानुन निर्माण र राजनीतिक सहकार्यका विषयमा प्रदेशसभामा देखिएको गतिरोध अन्त्य हुने विश्वास पनि गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सात दलीय गठबन्धनसँग बहुमत रहेकाले यादव बलियो उम्मेदवारका रूपमा देखिएका छन्। तर प्रतिपक्षी दल एमालेले पनि आफ्नो उपस्थिति मजबुत बनाउन उम्मेदवारी दिएपछि निर्वाचन प्रक्रिया रोचक हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्