संविधान ‘घाइते’ अवस्थामा, संसद पुनस्र्थापना अपरिहार्य : खगराज अधिकारी
  • प्रमुख खबर

पौष ७, पोखरा ।।
नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले देश गम्भीर राजनीतिक अस्थिरता र संवैधानिक संकटको भुमरीमा फसेको भन्दै त्यसबाट निकास दिलाउन एमालेसँग स्पष्ट संगठनात्मक तथा नीतिगत मार्गचित्र रहेको बताएका छन्।

प्रेस चौतारी कास्कीले हिजो पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत कमजोर अवस्थामा पुगेको उल्लेख गरे।

अधिकारीले संविधान र लोकतन्त्रको रक्षा आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको भन्दै वर्तमान परिस्थितिलाई अत्यन्त संवेदनशील अवस्थाका रूपमा चित्रण गरे।

“राज्यका तीनवटै अंग कमजोर बन्दै जानु गम्भीर चिन्ताको विषय हो। संविधानलाई जोगाउन र लोकतन्त्रलाई बलियो बनाउन अब स्पष्ट राजनीतिक निर्णय अपरिहार्य भइसकेको छ,” उनले भने।

उनका अनुसार प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण संविधान नै “घाइते” अवस्थामा पुगेको छ। संसद पूर्नस्थापना नगरी देशमा स्थायित्व, सुशासन र लोकतान्त्रिक अभ्यास सम्भव नरहेको उनले ठोकुवा गरे।

“संविधानलाई सही दिशामा फर्काउन प्रतिनिधि सभाको पूर्नस्थापना अपरिहार्य छ। यही बाटोबाट मात्रै राजनीतिक सहजता, स्थायित्व र विश्वासको वातावरण बन्न सक्छ, अधिकारीको भनाइ छ ।”

एमालेले वर्तमान संकट समाधानका लागि सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेको उनले स्पष्ट पारे। उनले जेनजी पुस्ताका सचेत, जागरुक र ऊर्जाशील युवालाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिमा आधारित सरकार बनाउने एमालेको रणनीति रहेको बताए।

उनका अनुसार यस्तो सरकारले आवश्यक परे संविधान वा कानुन संशोधन गरेर मात्रै समयमै वा आवश्यक भए अर्ली इलेक्सन तर्फ जानुपर्ने एमालेको धारणा छ।

उनले भने,“बल प्रयोग, एकल निर्णय वा दम्भबाट होइन, सहमति, संवाद र विधिको शासनबाटै लोकतन्त्र बलियो हुन्छ।”

त्यस्तै नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गर्दै अधिकारीले त्यसको प्रमुख विशेषता तीन तह नेतृत्व विकास रहेको बताए।

महाधिवेशनबाट ३५ प्रतिशतभन्दा बढी महिला तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गर्दै उनले यसले पार्टीलाई थप समावेशी, लोकतान्त्रिक र ऊर्जाशील बनाएको दाबी गरे।

“निर्वाचन प्रक्रियाबाट अध्यक्षको नेतृत्वमा सम्पूर्ण केन्द्रीय कमिटी एकताबद्ध भएको छ। अब ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दिशामा अघि बढेको छ, उनले बताए ।”

हाल देखिएको जेनजी आन्दोलन र युवापुस्ताको असन्तुष्टिबारे टिप्पणी गर्दै अधिकारीले राज्यले युवाको आवाज गम्भीरतापूर्वक नसुन्दा असन्तोष बढ्दै गएको बताए।

उनका अनुसार बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव र कमजोर सुशासन नै युवाको आक्रोशको मूल कारण हो।

यस्तै नेता अधिकारीले प्रतिनिधिसभा निर्वाचनको सवालमा जहिले चुनाव भएपनि एमाले जनमतबाट अनुमोदन भएर पहिलो पार्टी बन्ने दाबी दोहोर्‍याए।

उनले एमाले आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टी भएको र चुनावबाट कहिल्यै भाग्न नखोजेको स्पष्ट पारे। तर वर्तमान सरकारका कारण आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुन नसक्ने उनले बताए ।

उनले भने,“सरकार चुनावको तयारीमा भन्दा अन्तै ध्यान दिएको छ। चुनाव हुने गरी सरकार अघि बढेको देखिँदैन ।” दलहरू मुख्य निर्णायक शक्ति हुँदाहुँदै पनि वर्तमान सरकारले दलहरूको सहमति विना आचारसंहिता बनाएको आरोप उनले लगाए।

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीबाट लुटिएका हतियार फिर्ता नगरेसम्म र फरार अपराधीलाई जेल नहाल्दासम्म चुनावी वातावरण बन्न नसक्ने दाबी समेत उनले गरे।

प्रहरीका पोशाक, हतियार र गोलाबारुद बाहिर छन्। त्यही हतियार र पोशाक लगाएर मतदान केन्द्रमा कोही आयो भने नेपाल प्रहरी नै भ्रममा पर्न सक्ने भन्दै यस्तो अवस्थामा चुनावको सम्भावना नभएको पनि स्पष्ट पारे ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्