राष्ट्रपति भवनमा उच्च तहको राजनीतिक संवाद: नवयुवा आन्दोलनपछि शीर्ष नेताहरूको ऐतिहासिक भेट
  • प्रमुख खबर

Oplus_131072

पौष ८, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संयुक्त रूपमा भेट भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार(आज) भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा आउँदो निर्वाचनको तयारी र वातावरणबारे विस्तृत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

पछिल्लो समय देखिएको राजनीतिक उतार–चढाव, जनआकांक्षा र संस्थागत स्थायित्वका विषयमा शीर्ष तहमा विचार–विमर्श गरिएको जनाइएको छ।

विशेष गरी हालै सम्पन्न नवयुवा आन्दोलनपछि मुलुकको राजनीतिक संवाद र सहकार्यको आवश्यकता थप महसुस गरिएको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नवयुवा आन्दोलनपछि शीर्ष नेताहरूबीच भएको यो पहिलो औपचारिक भेट भएकाले यसले आगामी राजनीतिक समीकरण र सहमतिका संकेत दिन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।‌

भेटका क्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको मर्म अनुसार सबै राजनीतिक शक्तिहरूबीच संवाद, सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

उनले राजनीतिक स्थायित्व, संविधानको कार्यान्वयन र निष्पक्ष तथा विश्वास योग्य निर्वाचन वातावरण निर्माणमा सबै दलहरूको जिम्मेवारी महत्त्वपूर्ण रहेको उल्लेख गरेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा सहभागी दलका शीर्ष नेताहरूले पनि लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै जनताको विश्वास कायम राख्न साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

आउँदो चुनावलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सरकार तथा राजनीतिक दलहरूबीच समन्वय बढाउनुपर्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।

यद्यपि भेटका क्रममा भएका छलफलका ठोस निष्कर्ष सार्वजनिक गरिएको छैन । तर उच्च तहमा भएको यो संवादले राजनीतिक वातावरणमा सकारात्मक सन्देश दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्