एपीएफको दबदबा: आर्मीलाई ३–० ले हराउँदै दोस्रो जित दर्ता
  • प्रमुख खबर

माघ १२, पोखरा ।।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । अब अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग भिड्नेछ ।

सोमबार(आज) बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो ।

पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लबसँग पराजित भएको थियो ।

आजको दोस्रो खेल पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । त्यसपछि आजको अन्तिम खेलमा गण्डकी प्रदेश र आर्मी भिड्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्