नेपालको विश्वकप सपना चकनाचुर, स्कटल्यान्डसँग हार्दै समूह चरणबाटै आउट
  • प्रमुख खबर

माघ १२, काठमाडौं ।।
नेपाल आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।

स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसंगै नेपाल ‘सुपर सिक्स’ पुग्ने दौडबाट बाहिरिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा सम्हालिन सकेन।

कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल १३ ओभर ५ बलमै ६८ रनमा समेटियो। विन्दु रावल र रोमा थापाले अविजित १४–१४ रन बनाउँदै अन्तिमसम्म संघर्ष गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भने भएन।

स्कटल्यान्डकी अबतहा मकसूदले घातक बलिङ गर्दै ३ विकेट लिइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा १ सय ४० रन बनाउँदै अलआउट भएको थियो।

प्रियनाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई बलियो स्कोरसम्म पुर्‍याइन्। नेपालका लागि मनिषा उमाध्यायले ४ तथा कप्तान रुविना क्षेत्रीले ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि ब्याटिङले साथ नदिँदा जित हात पार्न सकेन।

यस हारसँगै नेपालको ‘सुपर सिक्स’ सम्भावना औपचारिक रूपमा समाप्त भएको छ। स्कटल्यान्ड भने विजयी हुँदै अर्को चरणमा प्रवेश गरेको छ।

आजको यस खेलको नतिजासँगै सुपर सिक्स पुग्ने ६ टोलीको टुंगो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड तथा समूह ‘ए’ बाट बङ्गलादेश, आयरल्याण्ड र अमेरिका अघिल्लो चरणमा प्रवेश गरेका छन्।

अमेरिकाले पपुवा न्यु गिनीलाई ५ विकेटले हराउँदै स्थान पक्का गरेको हो। अब ‘सुपर सिक्स’ चरणबाट शीर्ष चार टोलीले यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्