फागुन २२, ताप्लेजुङ ।।
ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणनाको कार्य सुरु गर्ने निर्णय गरेको हो ।
जिल्लाको सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भए सँगै सर्वदलीय बैठकबाट १ बजेबाट मतगणना गर्ने निर्णय भएको छ । जिल्लाको हिमाली क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत शुक्रबार(आज) बिहान ल्याइएको हो ।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार आज बिहान करिब तीन बजेसम्ममा चार ओटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको थियो ।
ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ४६ हजार ४७४ मत खसेकोमा २५ हजार ३९९ पुरुष र २१ हजार ७५ महिला रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिएका छन् ।
जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका थिए । ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका थिए ।
मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताए ।










