जन्ती बोकेको जिप दुर्घटना,४ जनाको मृत्यु, १४ घाइते
  • प्रमुख खबर

वैशाख ६, काठमाडौँ।।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ अन्तर्गत पुथाला क्षेत्रमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतक सबै सोही वडाका स्थानीय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहेलकुनामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो।

शनिबार साँझ कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिपमा चालकसहित १८ जना सवार रहेको र तीमध्ये १४ जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी सुर्खेतस्थित मेहेलकुना अस्पताल लगिएको थियो। तीमध्ये केहीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जस्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ भने स्थानीय तह र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्