वर्षाले खेल छोट्यायो,डीएल मेथडमा यूएईसँग नेपाल ६ विकेटले पराजित
  • प्रमुख खबर

वैशाख ७,काठमाडौँ।।

यूएईविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित गरेपछि डकवर्थ–लुइस (DL) मेथडमार्फत यूएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो, जसलाई उसले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याए भने अलीशान शराफूले १८ रनको योगदान दिए। नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे।

त्यसअघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए।
नेपालका अन्य ब्याट्सम्यानमध्ये कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, कुशल मल्लले १७, बसिर अहमदले १४ तथा नन्दन यादवले १३ रन जोडे। सन्दीप जोरा ६, गुल्सन झा १ र शेर मल्ल शून्य रनमा आउट भए।
यूएईका बलर मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट लिए। साएद हैदर र मुहम्मद अरफानले समान १–१ विकेट लिए।
नेपाल र यूएईबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल मंगलबार हुने तालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्