वैशाख ८,काठमाडौँ।।
मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको हिमाली भूभागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। अन्य क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागसँगै अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा तापक्रम बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (Heatwave) आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति भने देशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











