आज प्रतिनिधि सभा बैठक बस्दै, के छ त आजको कार्यसूची?
  • प्रमुख खबर

जेठ १२,काठमाडौँ।।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने तय भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र निर्णयको कार्यसूची रहेको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस विधेयकले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैबीच, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गरिने संसद् सचिवालयले जनाएको छ।आजको बैठकलाई आगामी राजनीतिक र प्रशासनिक प्रक्रियाका लागि महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्