जेठ ११, काठमाडौं ।।
नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री शिशिर खनालले ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।
सोमबार(आज) परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो आग्रह गरेका हुन् ।
पछिल्लो समय हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन उनले आग्रह गरेका हुन्।
उक्त भेटका क्रममा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ ।
यसका साथै उनले लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नवप्रवर्तन लाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका आर्थिक सुधारहरूबारे जानकारी गराउँदै जलविद्युत्, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधिको क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आह्वान गरे।
यता प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले अहिलेको सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्न यो भ्रमण भएको बताइन्।
उनले ई-गभर्नेन्स र डिजिटलाइजेसनमा ईयूको विज्ञता आदानप्रदान गर्नेलगायत नेपाल र ईयूबीच सहकार्यका थप अवसरहरू खोज्ने भ्रमणको उद्देश्य रहेको प्रष्ट पारिन्।
यस्तै नेपालका लागि ईयूकी राजदूत लोरेन्जोको नेतृत्वमा आएको २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले भोलि मंगलबा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग सामूहिक भेटवार्ता गर्दैछ।
यसअघि पदभार ग्रहण गरेयता कुनै पनि विदेशी कूटनीतिज्ञहरूलाई नभेटेका प्रधानमन्त्री शाहले ईयूको टोलीलाई भने सामूहिक रूपमा भेट्न लागेका हुन्।











