मौसम : तातो लहर संगै केही ठाउँमा पानी पर्ने सम्भावना
  • प्रमुख खबर

जेठ १३, काठमाडौं ।।
अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ । हिजो धनगढीमा सबैभन्दा धेरै तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगञ्जको तापक्रम पनि ४० डिग्री सेल्सियसको नजिक पुगेको थियो ।

लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भागका थोरै ठाउँमा आज दिउँसो पनि हावाहुरीको सम्भावना छ । हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्