जेठ १३, पोखरा ।।
पोखरा बहुमुखी क्याम्पस शैक्षिक इतिहासमा पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस हो । पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको संख्या थेग्न नसकेपछि शिक्षाप्रेमी, समाजसेवी तथा बुद्धिजीवीहरूको सक्रिय पहलमा वि.सं २०४४ सालमा पोखराको बगरमा यस क्याम्पसको स्थापना गरिएको थियो। तर २०५९ विविध कारणले गर्दा सो क्याम्पस पोखरा -९, नयाँबजारमा सरेको थियो।
हाल सोही स्थानबाट दाताहरुकै सहयोगका भरमा क्याम्पस सञ्चालनमा रहेको छ। सुरुआती चरणमा सीमित संकाय र न्यून स्रोतसाधनकाबीच यस क्याम्पस सञ्चालनमा आएको थियो। तर समयसँगै यसले आफूलाई पछिल्लो समय गण्डकी प्रदेशकै प्रतिष्ठित सामुदायिक क्याम्पसका रूपमा स्थापित गर्न सफल भएको छ।
विशेषगरी व्यवस्थापन, शिक्षा, मानविकी तथा सामाजिक विज्ञानका क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसले ग्रामीण तथा मध्यमवर्गीय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यस क्याम्पसले शैक्षिक गुणस्तर, व्यवस्थापन, अनुसन्धान र विद्यार्थीमैत्री वातावरणमा निश्चित मापदण्ड पूरा गरी
गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (QAA) प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ।
पछिल्लो समय क्याम्पसले आफूलाई केवल पठनपाठनमा मात्र सिमित नराखी अनुसन्धान र ज्ञान उत्पादनको केन्द्रका रूपमा पनि अघि बढाइरहेको छ।
यही शैक्षिक दृष्टिकोणलाई थप सशक्त बनाउने उद्देश्यसहित क्याम्पसले “व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदाउँदा प्रवृत्तिहरु सम्बन्धी राष्ट्रिय अनुसन्धान सम्मेलन- २०८३” आयोजना गर्ने भएको छ । जेठ १५ र १६ गते क्याम्पस प्राङ्गणमा उक्त सम्मेलन हुने भएको हो ।
शैक्षिक संस्थाहरू केबल शिक्षण कार्यमा मात्रै सिमित नरही अनुसन्धान तथा ज्ञान उत्पादनका रूपमा आफ्नो भूमिकालाई स्थापित गर्न आवश्यक भएको विषयलाई महसुस गर्दै क्याम्पसले सम्मेलनको तयारी गरेको बुधबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

यही उद्देश्य परिपूर्तिको लागि विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्व विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, सिनावत्रा विश्वविद्यालय थाइल्यान्ड र मुक्त फाउन्डेसन नेपालको सहकार्यमा सम्मेलनको तय गरिएको हो ।
सामुदायिक क्याम्पसको रूपमा स्थापित पोखरा बहुमुखी क्याम्पसले यस किसिमको राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको यो पहिलो पटक हो।
विषेशगरी यस सम्मेलनमा ज्ञान उत्पादन र अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखिएको छ । जसमा तीन राष्ट्रका ७ विश्वविद्यालय र २१ वटा क्याम्पसका ७८ जना अनुसन्धानकर्ताहरुको ५४ वटा अनुसन्धान पत्रहरू प्रस्तुत हुनेछन् ।
यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी – व्यवसायी, बैंक तथा वित्तीय क्षेत्र, सामाजिक अगुवा र विभिन्न सरोकारवालाहरुको सहभागिता रहने क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिएकी छन् ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनअन्तर्गत व्यवस्थपान तथा सामाजिक विज्ञानका समसामयिक विषयमा शैक्षिक बहस, अनुसन्धान आदान – प्रदान, नीति संवाद र विश्वविद्यालय – समुदाय – उद्योगबिच सहकार्य अभिवृद्धि गर्नु नै प्रमुख उद्देश्य रहेको उनले बताइन् ।
सम्मेलनको विशेष सत्रमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. महानन्द चालिसे र थाइल्याण्डको सिनावत्रा विश्वविद्यालयका सह-प्राध्यापक डा. थानकोर्न धानाथानचुचोटको विशेष उपस्थिति रहनेछ ।
यस्तै सम्मेलन अन्तर्गत प्यानल छलफल सेसनमा प्रा.डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकीबीच उच्च शिक्षा, आर्थिक विकास, बैंकिङ, उद्योग तथा सामाजिक रूपान्तरणका विषयमा विज्ञबिच सघन बहस हुने पनि क्याम्पस प्रमुख पराजुलीले बताइन् ।
यस क्याम्पसको पहलमा पहिलोपटक हुन लागेको सम्मेलनमा हरित व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति, वातावरणीय न्याय लगायतका मुख्य विषय क्षेत्रहरू समावेश समेत हुनेछन्।
विषेशगरी यस कार्यक्रमले अनुसन्धान संस्कृतिको विकास, नीति निर्माणमा शैक्षिक योगदान तथा सामुदायिक क्याम्पसको शैक्षिक पहिचान सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने क्याम्पसको विश्वास पनि रहेको छ ।










