ललितकलाका बजेट सुनिश्चित गर्न माग गर्दै कलाकार ठकुरीले बुझाए रास्वपालाई नौ बुँदे माग
  • प्रमुख खबर

जेठ १३, काठमाडौं ।।
“विश्वको उत्कृष्ट गन्तव्य नेपाल” बनाउने महाअभियानका
संयोजक प्राज्ञ नगेन सिंह ठकुरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा ललितकला क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न जोड दिँदै ठकुरीले बुधबार(आज) रास्वपाका सभापति लामिछानेलाई ज्ञापन पत्र बुझाइएका हुन् ।

ज्ञापन पत्रमा इतिहासको स्मरण गर्दै नेपालका महान कलाकार अरनिकोको पालालाई स्वर्ण युग मानिएतापनि कैयौं युगहरू बितिसक्दा समेत देश ललितकलाको ‘डायमण्ड युग’ मा प्रवेश गर्न नसकेको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

महाअभियानता प्राज्ञ ठकुरीले लियोनार्दो दा भिन्ची र पिकासो जस्ता विश्वप्रसिद्ध कलाकारहरूको उदाहरण दिँदै नेपालको कला क्षेत्रलाई पनि सोही स्तरमा प्रवर्द्धन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै ९ बुँदे मागहरू राखेका छन् ।

जसअन्तर्गत ललितकला क्षेत्रको संस्थागत र व्यावसायिक विकासका लागि छुट्टै अधिकारसम्पन्न बोर्डको स्थापना गरिनुपर्ने, संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको नि:शुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई सुनिश्चित गर्दै हरेक सरकारी विद्यालयमा अनिवार्य रूपमा ललितकलाको शिक्षक राख्नुपर्ने, ललितकला संग्रहालय तथा विभागका लागि केन्द्र, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा संकलित करको निश्चित प्रतिशत यस क्षेत्रमा लगानी गरिनुपर्ने तथा हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति हुनुपर्ने सो ज्ञापन पत्रमा समावेश गरिएको छ ।

यस्तै राज्यको विज्ञापन बोर्डमा अनिवार्य रूपमा कलाकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, सरकारद्वारा हरेक वर्ष उत्कृष्ट एकल वा सामूहिक कलाकृतिका लागि अन्तर्राष्ट्रिय स्तरको पुरस्कारको व्यवस्था गरिनुपर्ने, नेपाल प्रेस काउन्सिलबाट वर्गीकरण गरिने ‘क’ श्रेणीका पत्रिकाहरूमा अनिवार्य रूपमा ललितकलाका बारेमा एक पेज सामग्री प्रकाशित हुनुपर्ने, देशमा ललितकला सम्बन्धी उच्च शिक्षा, अनुसन्धान र विशिष्टीकरणका लागि छुट्टै ललितकला विश्वविद्यालय स्थापना गरिनुपर्ने, नेपाली कलाकारहरूले सिर्जना गरेका कलाकृतिहरूलाई बैंकमा उचित मूल्याङ्कन सहित धितो राखी सहज रूपमा ऋण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने र अन्तिममा नेपालको संविधानमा ललितकलालाई राज्यको एक महत्वपूर्ण अङ्ग र पहिचानको रूपमा स्पष्ट उल्लेख गरिनुपर्ने माग गरेका छन्।

रास्वपा सभापति लामिछानेले सो पत्र बुझ्दै आफूले यस विषयमा अध्ययन गरेर मात्र आवश्यकता अनुसार सम्बोधन गर्ने बताएको यस अभियानका अभियन्ता कुमार तमाङ्गले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्