जेठ १७, पोखरा ।।
देशभरका सात प्रदेशमध्ये राइड सेयरिङलाई कानुनी मान्यता दिने गण्डकी पहिलो प्रदेश हो । यस प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिएसँगै सेवाको भाडादर समेत तोकेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाडा निर्धारण गरेको हो । जसअनुसार चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले सुरुमै ६० रुपैयाँ बुझाउनुपर्नेछ ।
यात्रा जतिसुकै छोटो भएपनि सुरुवाती ६० र २ किलोमिटरको ९७ गरी न्यूनतम १५७ रुपैयाँ भाडा लाग्नेछ । त्यसभन्दा बढी दूरीका लागि प्रति किलोमिटर ४८ रुपैयाँ ५० पैसा भाडा तोकिएको छ ।
यस्तै मोटरसाइकल र स्कुटरको हकमा भने सुरुवाती भाडादर ३० रुपैयाँ कायम गरिएको छ । त्यसपछि प्रति किलोमिटर १६ रुपैयाँ ८५ पैसाका दरले भाडा तिर्नुपर्नेछ । विषेशगरी दुईपाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम ४८ रुपैयाँ ८५ पैसा भाडा लाग्ने नियम बनाइएको छ ।
सरकारले इन्धनका आधारमा छुटको व्यवस्था समेत गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीले १० प्रतिशत र विद्युतीय सवारीले १५ प्रतिशत छुट दिनुपर्नेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले मन्त्रिस्तरीय निर्णय मार्फत यो भाडादर स्वीकृत गरेका हुन् ।
राइड सेयरिङ (नियमन र व्यवस्थापन) दोस्रो संशोधन नियमावली २०८३ अनुसार यो निर्णय भएको हो । संघीय ऐन नआएकाले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १३ मा टेकेर यो नियम ल्याइएको मन्त्रालयले जनाएको छ ।
हाल यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनी दर्ता गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ ।








