नयाँ मिस नेपालको खोजी शुरु, देशभर अडिसन हुने, पोखरामा पनि आज हुँदै
  • संजय थापा

जेठ  १९, पोखरा ।।
द हिडन ट्रेजरद्वारा आयोजित नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस नेपाल २०२६” का लागि आवेदन खुला भएको छ। यस संस्थाले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपाल प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीहरूले प्रतियोगितामा सहभागिताका लागि जेठ २५ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन शुल्क भने निःशुल्क रहेको आयोजकले जनाएको छ। यस वर्षको मिस नेपाल २०२६ को ग्रान्ड फिनाले श्रावण १६ गते शनिबार काठमाडौंको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ। विषेशगरी यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिने आयोजकको भनाई छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरुका लागि न्यूनतम मापदण्ड तोकिएको छ। जसअन्तर्गत उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २६ वर्षबीच हुनुपर्ने छ। यस्तै प्रतियोगितामा सहभागी हुने प्रतियोगीसँग नेपाली नागरिकता अनिवार्य हुनुपर्ने छ भने विदेशमा बसोबास गर्ने नेपाली युवतीहरूको हकमा गृह मन्त्रालयद्वारा जारी गैरआवासीय नेपाली (एनआरएन) कार्ड आवश्यक पर्नेछ।नयाँ मिस नेपालको खोजीका लागि आयोजकले बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरलगायत देशका प्रमुख शहरहरूमा अडिसन सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन अभियान’ पनि चलाइनेछ। प्रतियोगिताको अन्तिम अडिसन आगामी जेठ २६ गते काठमाडौंमा हुनेछ।

अन्तिम चरणमा छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेसम्म विशेष प्रशिक्षण, ग्रुमिङ तथा व्यक्तित्व विकासका सेसन प्राप्त गर्नेछन्। यस वर्षको प्रतियोगितामा कजारिया रमेश टाइल्स लिमिटेड मुख्य शीर्ष प्रायोजकका रूपमा जोडिएको छ भने श्री नटराज ज्वेलर्स सह-प्रायोजक तथा आधिकारिक क्राउन पार्टनर बनेको छ।प्रतियोगितासम्बन्धी विस्तृत जानकारी तथा आवेदनका लागि इच्छुकहरूले मिस नेपालको आधिकारिक वेबसाइट
www.missnepal.com.np वा Miss Nepal मोबाइल एपमा लग इन गरीमिस नेपाल २०२६ को आवेदन दिन सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्