जेठ २१, काठमाडौं ।।
पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम हिजो बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ । हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५, जनकपुरमा ३८.२, सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
यस्तै काठमाडौंमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम हिजो बढेर ३९.६ डिग्री सेल्सियस मापन भएको छ ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।









