भारत भ्रमण सकेर लामिछाने स्वदेश फर्कदै, परराष्ट्रमन्त्री खनाल आजै दिल्ली जाँदै
  • प्रमुख खबर

जेठ २२, काठमाडौं ।।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वदेश फर्किंदै छन् ।

उनी पाँच दिने भ्रमण पूरा गरी शुक्रबार(आज) स्वदेश फर्कन लागेका हुन् । आफ्नो पाँच दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।

सभापति लामिछाने सहित रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेको भ्रमण टोलीले त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै आज लामिछाने सहितको टोली स्वदेश फर्कँदै गर्दा परराष्ट्रमन्त्री शिशिर खनाल भने भारत भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा नयाँदिल्ली जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार खनालले भ्रमणका क्रममा जयशंकरका साथै भारतका उच्चपदस्थ नेताहरुसँग दुई पक्षिय हितका विषयमा कुराकानी गर्ने छन् ।

यस्तै उनले त्यहाँ नेपाल – भारतबीचको सीमा समस्या लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्