जेठ २२, काठमाडौं ।।
तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न
बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । उक्त समितिले शुक्रबार(आज) सरकारलाई प्रतिवेदन बुझाएको हो ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले अध्ययन तथा अनुसन्धान प्रक्रिया सम्पन्न गरी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको जानकारी दिएका छन्।
उनले समितिको जिम्मेवारी पूरा भएको उल्लेख गर्दै अब थप प्रक्रिया सरकारको तहबाट अघि बढ्ने बताए। समितिले तयार पारेको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङमाथि लगाइएका आरोपहरूको विभिन्न कोणबाट अध्ययन गरिएको जनाइएको छ।
अनुसन्धानका क्रममा समितिले सम्बन्धित निकाय तथा सरोकारवालासँग जानकारी संकलन गर्नुका साथै गुरुङको सम्पत्ति विवरणसमेत केलाएर विश्लेषण गरेको थियो। छानबिनको क्रममा सो समितिले गुरुङसँग प्रत्यक्ष बयानसमेत लिएको थियो।
बैशाख २८ गते बसेको मन्त्रपरिषद्को बैठकले उनीमाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए। प्रतिवेदन सरकारलाई बुझाइए पनि त्यसको निष्कर्ष भने सार्वजनिक गरिएको छैन।









