अषाढ ३, काठमाडौं ।।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ गरेको छ ।
आयोगले बुधबार(आज) थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जर्मनीको मुहलबाउर कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् ।
अख्तियारले पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्यादसमेत थप गरिएको जनाएको छ।
यसअघि आयोगले हिजो मंगलबार यही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पनि पक्राउ गरेको थियो।
विशेष अदालतले उनीहरूलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। आज थप दुई जना पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।
अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र आर्थिक अनुशासनको उल्लङ्घन भएको हुनसक्ने आशंकामा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।










