विश्वसामु नेपालको सम्पदा चिनाउने अभियानमा सिन्धुली पुगे कलाकार नगेन सिंह ठकुरी
  • प्रमुख खबर

अषाढ ४, सिन्धुली ।।
नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी सिन्धुलीको कमलामाई नगरपालिकाको राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घर पुगेका छन्।

उनले त्यहाँ सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित प्राकृतिक सम्पदाले भरिपूर्ण र सम्भवत संसारको सबैभन्दा ठुलो मादलको मनोमन्टल जस भित्र राष्ट्रिय कला संग्रहालय र सभाहल र सिन्धुली कला घर प्राङ्गणलाई आफ्नो “त्रिकोण क्यानभासमा”उतारेका छन्।

सिन्धुली कला घरलाई क्यानभासमा उतार्दै उनले भने,” सिन्धुली कला घर अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पुर्याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।”

कला घरमा आयोजित लाईभ–चित्रण कार्यक्रममा कला शिक्षक सुरज श्रेष्ठ, नृत्य शिक्षक गौरव श्रेष्ठ र सिन्धुली कला घर परिकल्पनाकार अध्यक्ष सुमन थापा मगर सहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

स्थानियहरूले सिन्धुलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराएका थिए ।

ठकुरीले आफ्नो क्यानभासमा उतारेको सिन्धुली कला घर विश्व मञ्चमा चिनिनेमा त्यहाँका स्थानीयहरू विश्वस्त रहेका छन् ।

सिन्धुली कला घरका परिकल्पनाकार सुमन थापाले
जय कलाक्रान्ति विश्वमा छावस शान्तीका संयोजक समेत रहेका वरिष्ठ कलाकार ठकुरीले नेपाल कलायात्राको क्रममा कलाघरमा आइपुगेको बताए ।

कलाघर सिन्धुलीका आजीवन सदस्य सदस्य समेत रहेका ठकुरीले नेपालको ७७ वटै जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदाका चित्र प्रत्यक्ष रूपमा कोर्दै विभिन्न भाषामा अनुवाद गरी विद्यालयको पाठ्यक्रममा समावेश गर्ने उद्देश्यसहित थालेको यात्राप्रति कलाघर सिन्धुलीले शुभकामना तथा सम्मान व्यक्त गरे।

सो अवसरमा आयोजित कार्यक्रममा उपस्थित वक्ताहरूले उनको अभियानले नेपालको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै कलाघर सिन्धुलीका प्रतिनिधिले “चार जिल्ला र गौरीशंकर हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै कलाघरको ठूलो उपलब्धि हो,” भन्दै उनको यात्राले नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा थप टेवा पुग्ने बताए।

उनले प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता सिर्जनात्मक अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नगेन सिंहको कला यात्राको सफलताको शुभकामना व्यक्त गरे। साथै, ठकुरीको अभियानले भावी पुस्तालाई आफ्नो देशको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाबारे जानकारी दिलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसकेका छन्।

उनकाे लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ।

उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उनले बताए। यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य कलाकार ठकुरीको छ।

वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उनी लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् ।

यसै सक्रियताका कारण नै उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेका छन्।

स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उनले २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसकेका छन्।
उनले प्राप्त गरेका सम्मान नै उनकाे कलायात्राको क्षेत्रमा  पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो।

उनको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५ सय ६१ जना प्रकाशकका नाम समावेश छन्। सिन्धुलीसम्म पुग्दा २२०८ पुगेको स्थलगत कला भ्रमण संयोजक नकुल सिंह ठकुरीले जानकारी दिए।

करिब ५ लाख नेपालीको सहभागितामा गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ।

यसैक्रममा पहिलो प्रकाशित ‘नेपाल कला यात्रा’ कृति हालसम्म ६०० भन्दा बढी प्रति बिक्री भइसकेको अभियन्ता कुमार तामाङले जानकारी दिए।

त्यस्तै ठकुरीका अनुसार १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्