मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्नेक्रम जारी
  • प्रमुख खबर

असार १७, काठमाडौं ।।

मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । हिजोदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असार ५ गते पूर्वबाट भित्रिएको मनसुन यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसुन विस्तार भएको हो । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ । गए राति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङसहित मध्य क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा भएको छ । बागमतीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक/दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ ।

आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्