असार २२, पोखरा ।।
पाेखराकाे अन्तर्राष्ट्रिय उडानमा पुन सफलता, फ्लाइ दुबईले २०२७ मार्चसम्म पोखरा–दुबई उडानको टिकट बुकिङ खुलायाे । पोखराबाट दुबईका लागि आगामी भदौ ७ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मका लागि टिकट बुकिङ खुला गरेको छ। लामो अवधिसम्मको टिकट बिक्री खुला गरेसँगै कम्पनीले पोखरा–दुबई उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता देखाएको छ।
यसअघि कम्पनीले प्रारम्भिक चरणमा एक महिनासम्म दैनिक एक उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। तर अहिले करिब डेढ वर्षअघिसम्मकै टिकट बिक्री खुला गरेपछि पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानको भविष्यप्रति आशा थप बलियो बनेको छ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई सफल र दिगो बनाउन कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। काठमाडौं–दुबई उडान सुरुआतमा हप्तामा चार उडानबाट अहिले दैनिक चार उडानसम्म विस्तार भएको उदाहरण दिँदै उनले पोखरामा पनि त्यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
“हामी पोखरामा तीतो होइन, मीठो अनुभूति लिन चाहन्छौँ। भैरहवामा भने हामीले अपेक्षाअनुसारको नतिजा पाएनौँ,” उनले भने। भैरहवाबाट फ्लाइ दुबईको उडान हाल स्थगित रहेको उल्लेख गर्दै उनले पोखरा उडानको स्थायित्वका लागि स्थानीय समुदाय, पर्यटन व्यवसायी र निजी क्षेत्रको सक्रिय साथ आवश्यक पर्ने बताए।
शाहीका अनुसार पोखरा–दुबई उडान सञ्चालनमा आएपछि पोखराबाट दुबई हुँदै लण्डन, न्यूयोर्क, टोकियोसहित विश्वका करिब २६० अन्तर्राष्ट्रिय गन्तव्यमा सहज पहुँच स्थापित हुनेछ। यसले पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, व्यापार तथा लगानी विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजी क्षेत्रले गरेको लामो संघर्ष स्मरण गर्दै अब नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।
“हामी अन्तर्राष्ट्रिय उडानका लागि लामो समयदेखि प्रतीक्षामा थियौँ। विमानस्थल बनेर मात्र हुँदैन, नियमित उडान हुनुपर्छ। अब यो अवसरलाई जोगाउनु आवश्यक छ,” उनले भने। फ्लाइ दुबईको भगिनी संस्था इमिरेट्सका नेपालस्थित जनरल म्यानेजर रमेश लामिछानेले पोखरा–दुबई उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनले यस उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्दै पर्यटन र आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्सले थालेको यो प्रयास पोखराको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै यसको सफलताका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताए। “यदि यो उडान सफल हुन सकेन भने पोखराले फेरि अन्तर्राष्ट्रिय उडानको अवसर पाउन वर्षौँ कुर्नुपर्ने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए।









