पोखराको फेवातालमा पर्यटक सुरक्षा जाँच अभियान शुरु
  • प्रमुख खबर

साउन ०७, पोखरा ।।

पर्यटकीय राजधानी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले डुङ्गा चालकमाथि जाँडरक्सी तथा लागुऔषध सेवनसम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा डुङ्गा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३२ जना डुङ्गा चालकको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तीन जना चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार पक्राउ परेका चालकमाथि आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

डीएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा नेपाल प्रहरीको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्