साउन ०८, पोखरा ।।
पोखराको लामाचौरमा यस बर्ष पनि ‘लामाचौर तीज महोत्सव–२०८३’ हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २८ औं संस्करणको महोत्सव आगामी भदौ २७ देखि २९ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुने संस्थाका अध्यक्ष इञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए । संस्थाको ३० औं वार्षिकोत्सव समारोह एवं हरितालिका तीज पर्वको अवसरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताए । उनले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिए ।महोत्सवमा यसपालि पनि पुरुष भलिबल प्रतियोगितासहित लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिता, अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, बिभिन्न सम्मान कार्यक्रम, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरु, कलाकारको दैनिक सांस्कृतिक प्रस्तुतसमेत हुने बताईएको छ ।
विभिन्न प्रतियोगिताका विजयीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्रबद्र्धन रहेको महोत्सवको मुख्य सहयोगी बानियाँ सपिङ सेन्टर लामाचौर हो । अन्य प्रायोजक एवं सहयोगीहरु जोडिने क्रम जारी रहेको संस्था अध्यक्ष एवं मूल आयोजक समिति संयोजक भण्डारीले जनाए ।आयोजकले महोत्सवको बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्दै आएको छ । संस्थाले सर्वसाधारणको सुविधाका लागि लामो समयदेखि एम्बुलेन्स तथा शववाहन पनि संचालन गर्दै आएको छ भने गोस्तेघाटमा फुटबल मैदान नै निर्माण गरेको छ ।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजना हुने यो महोत्सव तीज अवसरमा पोखरा आसपासमा हुने विभिन्न मेला महोत्सवमध्ये सबैभन्दा ठूलो मानिन्छ । यहाँको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो । भलिबल प्रतियोगिता अवलोकन गर्न टाढाटाढाबाट दर्शक यहाँ आउने गर्दछन् ।








