पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ नियुक्त
  • प्रमुख खबर

साउन १३, पोखरा ।।
पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गरेको छ । बुधबार(आज) महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको प्रतिष्ठानको नेतृत्व चयन गरेका हुन् । जसअन्तर्गत प्रतिष्ठानको कुलपतिमा भाषा तथा साहित्यका स्रष्टा सरस्वती लालचन ‘प्रतीक्षा’, उपकुलपतिमा कला तथा साहित्यतर्फका कलाकार तिलक पुर्जा पुन मगर र सदस्य–सचिवमा लोकगीत तथा सङ्गीत क्षेत्रका जीवन दाहाल नियुक्त भएका छन्।

त्यसैगरी प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट/ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) मनोनयन भएका छन् ।

यस्तै अन्य प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्ट/ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत/गीतकार), भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रिता पाहारी (साहित्य तथा कला) तथा शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–सङ्गीत) रहेका छन्।

महानगर प्रमुख आचार्यले नवनियुक्त पदाधिकारीहरूलाई जिम्मेवारीसहित नियुक्तिपत्र प्रदान गर्दै यस प्रतिष्ठानमार्फत पोखराको साहित्य, कला, भाषा, संस्कृति तथा समग्र प्राज्ञिक क्षेत्रको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे ।

यस्तै प्रतिष्ठानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन महानगरले आवश्यक कानुनी, संस्थागत तथा बजेटीय व्यवस्था गरिसकेको जानकारी समेत दिए।

प्रतिष्ठानका गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न पोखरा घरमा कार्यालय व्यवस्थापन गरिएको उल्लेख गर्दै यसले नगरको मौलिक कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास समेत उनले व्यक्त गरे ।

यसैबीच महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले पोखराको सिर्जनशील तथा सांस्कृतिक क्षेत्रलाई थप सशक्त बनाउने बताउँदै महानगरपालिकाबाट आवश्यक सहयोग र सहजीकरण निरन्तर रहने प्रतिबद्धता जनाइन्।

त्यस्तै नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूहरूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र समर्पणका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) बमोजिम प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य–सचिव तथा अन्य पदाधिकारीहरूको नियुक्ति तथा मनोनयन गरेको हो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्