साउन २०, पोखरा ।।
नेपालका लागि इजरायलका राजदूत शमुलिक अरिए बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । महानगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–इजरायल सम्बन्ध तथा पोखरा र इजरायलबीच साझा हितका विभिन्न विषयमा छलफल भएको हो ।
यस्तै सो भेटमा पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सीप आदान–प्रदानका विषयमा विशेष छलफल भएको छ ।
यस अवसरमा नगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय गर्न राजदूतसँग आग्रह गरे । आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुने उनले बताए ।
राजदूत बासले इजरायलको आधुनिक कृषि प्रणालीसम्बन्धी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताए। उनले इजरायलको प्रविधिमैत्री र आधुनिक कृषि प्रणालीबाट नेपालले समेत लाभ लिन सक्ने धारणा व्यक्त गरे।
भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने तथा पोखरा र इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाका विषयमा समेत चासो व्यक्त गरिएको छ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य महत्वपूर्ण हुने आचार्यले बताए ।
भेटवार्तामा दुवै पक्षबीच प्राविधिक तथा पारस्परिक हितका लगायतका विषयमा समेत छलफल भएको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी र महानगरको वैदेशिक विभाग समन्वय प्रमुख सुवास ढुंगाना लगायतको समेत सहभागिता रहेको थियो ।








