भदौ १३, काठमाडौं ।।
नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि चिनियाँ दूतावासले
तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले शनिबार(आज) विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ‘ओभरफ्लो’ हुन थालेकाले थप जोखिम बढेको जनाएको हो ।
अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्वतयारी थाल्न अपील गरेको छ ।
यस्तै सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावसले अनुरोध पनि गरेको छ ।








