१० दिनपछि चमत्कार: त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार
  • प्रमुख खबर

भदौ १९,नुवाकोट।।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका दुई जनाको शुक्रबार जीवितै उद्धार गरिएको छ।

जीवित उद्धार गरिएकाहरूमा सञ्जय साह र कविर महर्जन रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा सुरुङबाट बाहिर निकालेको हो।

उद्धारअघि सुरुङभित्र फसेकाहरू र उद्धार टोलीबीच दोहोरो संवाद भएको थियो। उद्धारकर्ताले ‘नआत्तिनुहोस्, हामी तपाईंहरूको उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएपछि उनीहरू जीवित रहेको पुष्टि भएको थियो। त्यसपछि उद्धार कार्यलाई थप तीव्र बनाइएको थियो।

सांसद न्यौपानेका अनुसार सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य पनि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर अघि बढाइरहेको छ।

१० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। उनीहरूको जीवित उद्धारले उद्धार अभियानमा संलग्न टोलीका साथै परिवारजन र सर्वसाधारणमा आशा र राहतको भावना जगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्