डीएनए परीक्षणका लागि चीनले नास्टलाई हस्तान्तरण गर्‍यो आधुनिक उपकरण र सामग्री
  • प्रमुख खबर

Oplus_131072

असोज ७, काठमाडौं ।।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई
चीन सरकारले डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो । चिनियाँ राजदूत झाङ माओमिङले नास्टलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबमा मात्रै परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि काम भइरहेको छ । नास्टका प्रवक्ता डा. रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै ८०७ वटा नमुना प्राप्त गरिसकेको छ ।

नास्टले नमुनाको प्रोफाइल तयार गरी वैधानिक फरेन्सिक निकायहरूलाई पठाउनेछ, जहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ । यो सहयोगले तत्कालीन परीक्षणसँगै नेपाली वैज्ञानिकहरूको क्षमता अभिवृद्धिमा समेत ठूलो योगदान पुग्ने नास्टले जनाएको छ ।

भोटेकोशी बाढीपछि एक हजार ४५१ जनाको शव भेटिएकोमा एक हजार ३२९ जना मृतक र दुई हजार १६ जना मृतकका आफन्तको डिएनए नमुना सङ्कलन भएको सरकारले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्