कार्तिक ११, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात हुने जनाएको छ । विषेशगरी बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपात हुने जनाएको हो ।
महाशाखाका अनुसार उक्त चक्रवातका कारण बुधबार(आज)राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश प्रदेशमा मध्यमसम्मको वर्षा हुनेछ ।
यस्तै यसको प्रभावले भोलिदेखि भने शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भोलिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै महाशाखाले पर्सि शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।
मौसममा आएको बदलिका कारण यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान तत्काल नकाट्न सल्लाह समेत दिइएको छ ।
अहिले यो चक्रवात भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको भारतीय मौसम विभागले जनाएको छ । नेपाल आउँदा चक्रवातको तीव्रता घटे पनि यसले प्रभाव पार्नेछ ।







