आज छठ पर्व मनाइँदै, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै
  • प्रमुख खबर

कार्तिक २९,काठमाडौं।।

तराई–मधेससहित देशका विभिन्न स्थानमा आज श्रद्धा, भक्ति र उल्लासका साथ छठ पर्व मनाइँदैछ । सूर्यदेव र छठी माताको पूजा–आराधना गरी मनाइने यो पर्व धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा परिचित छ ।

चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले नदी, ताल, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा रहेको छ । व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ जलाशयमा पुग्ने र सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने गर्छन् ।

छठ पर्वको अवसरमा सूर्यदेवलाई फलफूल, ठेकुवा, भुसुवा, उखु, नरिवललगायतका प्रसाद चढाइन्छ । परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै यो पर्व मनाउने धार्मिक विश्वास छ ।

छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ । पछिल्लो समय तराई–मधेसमा मात्र सीमित नरही काठमाडौं, पोखरालगायत देशका विभिन्न सहरमा पनि छठ पर्व धुमधामका साथ मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्