पाेखरा ।।
पोखराको एक प्रसिद्ध प्राकृतिक आकर्षण हो पाताले छाँगो। पाेखरा घुम्न आउने पर्यटकले सायदै नछुटाउने उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हाे । पाताले छाँगो डेभिज फलका नामले अझ धेरै प्रख्यात छ ।
सन् १९६१ मा स्विस नागरिक डेभिस पौडी खेल्ने क्रममा यो छाँगोको बग्दो पानीमा परेर ज्यान गुमाएको बताइन्छ। यस घटनापछि, उनको स्मृतिमा यसलाई “डेभिज फल्स” भनिएको बताइन्छ ।
उपत्यका नगर विकास समितिको निर्णय अनुसार वि.सं २०३४ सालदेखि ४७ वर्ष अर्थात हाल सम्म छोरेपाटन मा.वि.ले भाेगचलन गर्दै आएको थियो । ४७ वर्षपछि अहिले पाेखरा महानगरपालिकाले आफ्नो मातहतमा ल्याएकाे छ ।
पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी कम्पनीलाई ठेक्का दिने प्रक्रिया अघि बढाएको थियो । जसको आम्दानी भन्दा ठेक्का रकम साह्रै काम भएको बुझी ‘कौडी’को भाउमा ठेक्का दिन लागेको भन्दै विरोध गरेका थिए । जसले गर्दा झण्डै दुई साता पर्यटकलाई अवलोकन गर्न अवरोध भएको थियो । उक्त छाँगाे हेर्न आएका कैयौं पर्यटकहरु प्रवेशद्वारमा झुन्डिएका तीन वटा ताला देखेर अवलाेकन बेगर नै फर्केका थिए ।
माघ १ गतेदेखि बन्द रहेकाे उक्त छाँगाे माघ १४ गतेमात्र महानगर आफैले चलाउने सर्तमा पुन सञ्चालनमा ल्याएको छ ।
प्रवेशकाे टिकटमा नगर कार्यपालिकाको पूरा ठेगाना उल्लेख गर्न खोजेको महानगरले सही तरिकाले लेखेको छैन भने पाताले छाँगाेको नाम शुद्धसंग लेखिएको छैन । टिकटमा लेखेको पातले शब्दको अर्थ पातलो आकार वा पत्र भन्ने हुन्छ भने पाताले छाँगोमा भएको पातालेको अर्थ पातालको वा पाताल सम्बन्धी भन्ने हो ।
फेवा तालबाट बग्ने पानी तिब्र गतिमा झरी पातालमा बगेको छ । जुन जमिनको सतह भन्दा गहिरो भई भूमिगत भएको छ ।
महानगरपालिका जस्ताे जिम्मेवार निकायबाट यस सुन्दर छाँगाेकाे नाम मात्र बिगारेकाे छैन ठेगाना समेत सहि तरिकाले राखिएको छैन । यस्तै टिकट शुल्कमा पनि वृद्धि गरेकाे छ ।
यसअघि विद्यार्थीका लागि प्रवेश शुल्क २०, नेपाली नागरिकलाई ४०, सार्क राष्ट्रका नागरिकलाई ८०, विदेशी नागरिकका लागि १ सय रुपैयाँ लिँदै आएको थियो । तर महानगरपालिकाले याे छाँगाे आफ्नाे मातहतमा ल्याएसंगै शुल्क वृद्धि गरेर विद्यार्थीका लागि ३०, नेपाली नागरिकका लागि ५० र विदेशी नागरिकसँग १ सय ५० रुपैयाँ लिन थालेको छ ।









