पाेखरा ।।
नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले सरकारले जनताकाे भावना अनुरुप काम गर्न नसक्दा राजाबादीहरुले खेल्ने अबसर पाएकाे बताएका छन् ।
शुक्रबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार विशेषगरी सरकार पक्षकै रबैयाका कारण अहिलेकाे व्यवस्था र संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । जसले गर्दा त्यति धेरै संघर्ष गरेर ल्याएकाे लोकतन्त्र र गणतन्त्रमाथि नै प्रहार हुने कार्य भइरहेकाे पनि उनले बताए ।
माओवादी केन्द्र जस्ताे रचनात्मक भूमिका निर्वाह गरिरहेकाे प्रतिपक्ष हुनु अहिलेकाे सरकारका लागि स्वर्णिम अवसर हुदाँ पनि यसलाई सदुपयाेग गर्न नसक्नु सत्तापक्षकाे कमजोरी भएको समेत उनले बताए ।
दुईवटा ठूला दल मिलेर बनेकाे सरकार भएतापनि जनताकाे हितका लागि काम गर्न नसकेकाे हुँदा सरकारले नैतिकताका आधारमा बाहिरिनुपर्ने उनले बताए ।
महासचिव गुरुङले माओवादीलाई अहिले सरकारमा जान हतार नभएको बताउँदै सरकार नटिके पनि आफ्नै कारणले नटिक्ने किनकि सरकारपक्षका आफ्नै भन्नेहरुबाट नै सरकारको चर्को विराध गरिरहेको उल्लेख गरेका छन् ।
यस्तै शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी, लघुवित्त जस्ता अन्य सबै असन्तुष्टिलाई सरकारले बेलैमा सम्बोधन गर्ने भन्दापनि गिथोल्ने प्रयास गर्दा जनतामा असन्तुष्टि बढेको प्रतिक्रिया उनले दिएका छन् ।










