पोखरा ।।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपति एवं प्राज्ञ/पदाधिकारी नियुक्तिका लागि गण्डकी सरकारले दरखास्त आह्वान गरेको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ एवं पदाधिकारी सिफारिस समितिको सचिवालयले १५ दिन अवधि राखेर गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७७ बमोजिम शनिबार सूचना जारी गरेको हो । यसअघि, सूर्य खड्का बिखर्ची कुलपति रहेको प्रतिष्ठान गत १४ वैशाखदेखि प्राज्ञ एवं पदाधिकारी विहीन छ । ४ वर्षे कार्यकाल रहने प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव, ४ परिषद् सदस्य र १७ जना प्राज्ञ सदस्य गरी २४ जना रहने व्यवस्था छ ।
संस्थापक कुलपति बिखर्चीले फेरि पनि दोस्रो कार्यकालका लागि कुलपतिका पदमा आवेदन बुझाएका छन् । आइतबार उनले सामाजिक विकास मन्त्रालयमा पहिलो नम्बरमै आवेदन बुझाएका हुन्। बिखर्चीको पहिलो नम्बरमानै आवेदन दर्ता भएको छ ।
सूचना बमोजिम भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, संगीत वा संस्कृतिको क्षेत्रमा अध्ययन वा अनुसन्धान गरेर ख्याति कमाएको, ३५ वर्ष उमेर पूरा भएको व्यक्तिले आवेदन दिन सक्ने प्रावधान राखिएको छ । तीमध्ये कुलपतिको हकमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सदस्यसचिवको निम्ति स्नातक वा सो सरह एवं प्राज्ञ सदस्यका लागि कक्षा १२ वा सो सरह उत्तीर्ण हुनु पर्नेछ । आवेदकले सम्बन्धित विधाको विकास, स्रोतसाधनको दिगो परिचालन तथा व्यवस्थापन र कार्यान्वयनका लागि समन्वय तथा सहकार्यका विषय समावेश भएको संक्षिप्त कार्ययोजनासमेत संलग्न गर्नुपर्नेछ ।












