पोखरा ।।
नेकपा माओवादी केन्द्रको यही जेठ १० गते पोखरामा वृहद् जनसभा हुने भएको छ ।
माओवादी केन्द्रले जेठ २ गते बैतडीको पाटनबाट सञ्चालन गरेको “मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत पोखरामा उक्त सभा गर्न लागिएको हो ।
सो सभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितको सिँगो पार्टी नेतृत्व सहभागी हुने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
पोखराका चिप्लेढुंगामा जेठ १० हुने सभालाई पार्टीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन्। उक्त सभामा कमिटिले पाँच हजार आमनागरिकको सहभागी गराउने पनि बताएको छ ।
कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले यस अभियान अन्तर्गत जेठ ८ गते बिहीबार बागलुङको ताराखोला आईपुगेका पार्टी अध्यक्ष प्रचण्डसहितकाे टोली जेठ ९ गते शुक्रबार विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा गएर जनसंम्वाद गर्ने कार्यक्रम तय भएको बताएका छन् ।
सो कार्यक्रम पश्चात प्रचण्ड सहितको टोली पोखराको हेमजा मिलनचोकमा आउने र त्यहाँ उनीहरूको स्वागत सहित भेटघाट गर्ने कार्यक्रम रहेको बताउँदै जेठ १० गते शनिबार चिप्लेढुंगामा कस्केलीहरुको वृहत सहभागिता सहित जनसभा सम्पन्न गर्ने जानकारी दिए ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न पोखराका ३३ वटै वडामा विभिन्न समितिहरु गठन गरिएको अध्यक्ष गिरीले बताए।
त्यस्तै सोही पत्रकार सम्मेलन मार्फत नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटीको आगामी जेष्ठ २४ गते पोखरा सभागृहमा हुने नगर अधिवेशनबारे पनि जानकारी दिइएको छ ।
अधिवेशन अन्तर्गत जेठ २५ गते बन्द सत्र सहित छलफल हुने कमिटीका सचिव जनकराज पराजुलीले बताए। आसन्न नगर अधिवेशनमा पार्टी अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रूपमा सहभागी हुनेछ।
प्रतिनिधि छनोटका लागि प्रत्येक वडाबाट न्यूनतम ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक, २० जना बराबर १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ।
प्रतिनिधि छनोटमा पार्टी विधान २०८० को भाग ७, धारा ३२(२) बमोजिम भूगोल, जनजाति, युवा, अल्पसंख्यक, एक दलित र एक महिला अनिवार्य समावेश हुनुपर्ने प्रावधान राखिएको छ।
हालसम्म ५ हजार ५ सय ८० पार्टी सदस्यहरूको नवीकरण भएको र सम्मेलनमा ५ सय ५० प्रतिनिधि र ९९ पर्यवेक्षक सहभागी हुने कमिटीले जनाएको छ ।
महानगर समितिमा नयाँ सदस्य मनोनयनको निर्णय समेत गरेकोे छ ।
वडा सम्मेलनबाट निर्वतमान भएका मनोज रसाइली (वडा ११), गोविन्द घिमिरे (वडा १२), निर्मल आचार्य (वडा १६), शालिकराम देवकोटा (वडा १७), निर्मल वास्तोला (वडा १९), पूर्णदिप सिग्देल (वडा २१), नवराज बराल (वडा २२), पुरुषोत्तम सुवेदी (वडा २४), मेघराज भण्डारी (वडा २६), यज्ञ प्रसाद तिवारी (वडा २८), लालबहादुर सुनार (वडा २९) र कृष्ण प्रसाद तिमिल्सेना (वडा ३१) लाई महानगर समिति सदस्यमा मनोनयन गरिएको छ ।













