काठ्माण्डाैं ।।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा सोमबार(भाेलि) बिहान ९ बजे पदाधिकारी बैठक बस्ने गरि बोलाएकाे मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार भाेलि बस्ने बैठकको मुख्य विषय नै गृहमन्त्रीकाे बारेमा भएको बताए ।
यस्तै उक्त बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्ने समेत उनले बताए ।
गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएसँगै गृहमन्त्रीकाे नाम समेत पछिल्लो समय जाेडिन पुगेकाे हाे ।
अख्तियारले उनकाे डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको हाे। यस प्रकरणमा उनकाे समेत संलग्नता रहेको आरोप लागेसंगै नेपाली कांग्रेसका केही नेताहरुले लेखकले नैतिकताका आदारमा राजिनामा दिनुपर्ने बताइरहेका छन् ।










