एमाले पोखरा महानगर कमिटीले विचार गोष्ठी गर्दै, महासचिव पोखरेलले सम्बोधन गर्ने
  • प्रमुख खबर

पोखरा ।।

जननेता मदन कुमार भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा पोखरामा विचार गोष्ठी आयोजना हुने भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आयोजनामा असार १४ गते पोखरा सभागृह हलमा गोष्ठी आयोजना गरिएको अध्यक्ष जीवन प्रसाद आचार्यले जानकारी दिए ।

गोष्ठीलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सहितका नेताले सम्बोधन गर्नेछन्। सोही कार्यक्रममा पोखरा महानगरकमिटीको मुखपत्र ‘अभियान संस्करण २’ पुस्तकको विमोचन समेत हुने उनले खुलाए । कार्यक्रमलाई भव्य बनाउनको लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष आचार्यको भनाइ छ ।

जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुनका लागि नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सबै कस्केली जनसमुदायलाई उनले आग्रह समेत गरेका छन् । कार्यक्रम शनिबार बिहान साढे ११ बजेबाट सुरु हुने उनले काेटखबरलाई बताए ।नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो। विश्वमै कम्युनिस्ट शासन र पार्टीहरु धराशायी भएका बेला नेपालमा जबजमार्फत भण्डारीले गरेको प्रतिस्पर्धात्मक राजनीतिको विश्वमै चर्चा भएको थियो । भण्डारीकाे जन्मजयन्तीको अवसरमा एमालेले देशैभर विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्