पोखरा ।।
“जहाँ संस्कृति, त्यहाँ साहित्य” भन्ने मूल मन्त्रका साथ शुक्ला साहित्य प्रतिष्ठान पोखराले यस वर्ष २६ औं राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी तीव्र पारेको छ। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आगामी साउन ३१ गते हुने यो भव्य सांगीतिक धार्मिक कार्यक्रमको तयारीलाई व्यवस्थित र सफल बनाउन प्रतिष्ठानले पोखराका विभिन्न संघसंस्था र समुदायसँग अन्तर्क्रिया तथा छलफललाई तीव्रता दिएको छ।
पोखरा–१६, बाटुलेचौरमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले प्रतिष्ठानले लामो समयदेखि यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको र यसपटक अझ फरक, आकर्षक र प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले राष्ट्रिय कृष्ण भजन प्रतियोगिता क्षेत्रको गौरवपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै, “सामूहिक प्रयास र सहभागिता मार्फत यस कार्यक्रमलाई भव्य, सभ्य र भक्तिभावपूर्ण बनाउनु जरुरी रहेको बताए ।,” भने उनले शुक्ला प्रतिष्ठानका कार्यक्रमहरूले पोखराको सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएकोमा पनि गर्व व्यक्त गरे ।
प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न संघसंस्था, व्यक्तित्व र सरोकारवालाहरुको उपस्थितिमा सुझाव र प्रतिबद्धता प्रस्तुत गरिएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष शोभा मोहन पौडेल, मानार्थ सदस्य तथा संस्कृतिकर्मी रामबहादुर बानियाँ, पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ, सल्लाहकार बेनीबहादुर बस्नेत, सुबास अधिकारी, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, पोखरा मण्टेश्वरी विद्यालयका निर्देशक थिरबहादुर थापा, तथा बडहरबोट आमासमूहकी उपाध्यक्ष गीता पौडेललगायतको सक्रिय उपस्थिति रहेको संस्थाका सह-सचिव प्रचारप्रसार संयोजक संजय थाापाले जानकारी दिए ।
प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले यसपटकको प्रतियोगिता अझ सशक्त र व्यवस्थापनमैत्री बनाउन विभिन्न उपसमिति गठन गरिएको बताउँदै तयारी कार्य आरम्भ भइसकेको जानकारी दिए ।
कार्यक्रममा महिला तथा सामाजिक संघसंस्था समन्वय उपसमिति संयोजक शारदादेवी बस्नेतको संयोजनमा छलफल गरिएको थियो भने वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए ।









