पोखरालाई खेलकुदको हब बनाउने लक्ष्यसहित पोखरा र चेओगं योङबीच सम्झौता
  • प्रमुख खबर

भाद्र ११ गते, बुधबार
पोखरा ।। पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं–योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले एक सम्झौता पत्र (MoU)मा हस्ताक्षर भएको छ।

शनिबार पोखरा महानगरमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं–योङ काउन्टीको तर्फबाट खेलकुद समिति सदस्य हान ग्वाङ सेओकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार दुवै पक्षबीच खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू बिच भ्रमण आदानप्रदान, पोखराका खेलकुद र खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ।

सो अवसरमा बोल्दै महानगर प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको बताउँदै यस सम्झौता मार्फत पोखरेली र कोरियाली खेलाडीहरूबिच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्न समेत सहज हुने बताए।

त्यस्तै चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताए।

उनले युवा खेलाडीहरू आदानप्रदान, विद्यालय स्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगर भित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको बताए।

यस्तै सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले यस सम्झौताले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल सामाग्रीहरू सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्पूर्ण रहेको बताए ।

यसैबीच सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बिचमा पनि भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्