भाद्र १४ गते, पोखरा ।। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच दुईपक्षीय भेटवार्ता भएको छ । शनिबार (आज) चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनले चिनियाँ राष्ट्रपति सिलाई नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार बैठकमा चिनियाँ राष्ट्रपति सीले नेपालको सीमा र क्षेत्रीय अखण्डतालाई समर्थन गर्दै दुई पक्षीय सम्बन्ध बलियो बनाउन चीनको पूर्ण समर्थन रहने बताइएको छ ।
उक्त भेटवार्तामा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने, आर्थिक लगायतका विविध क्षेत्रका विषयहरूमा संवाद समेत भएको बताइएको छ।
प्रधानमन्त्री ओली थियानजिनमा आयोजना हुने शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल सहित आज चीन प्रस्थान गरेका हुन्।









