असोज १३, काठमाडौं ।।
ऐतिहासिक जितसहित टी–२० अन्तर्राष्ट्रिय शृंखलाको शानदार सुरुवात गरेको नेपालले आज वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ८ बजेबाट खेल सुरु हुनेछ।
पहिलो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले हराउँदै नेपालले नयाँ इतिहास रचेको थियो। त्यसैले, आजको खेल जित्न सके नेपाली टोलीले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले पहिलो खेलमै बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गरेको थियो।
आज पनि त्यस्तै उत्कृष्ठ प्रदर्शन दोहोर्याउने अपेक्षा गरिएको छ।नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा, सोमपाल कामी र साहब आलम रहेका छन्।
त्यस्तै वेस्ट इन्डिजलाई अकिल होसेनले कप्तानी गर्दै छन्। टोलीमा फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर रहेका छन्।
नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।













