असोज २४, काठमाडौं ।।
नेपालका मोटरसाइकल रेसर र कार्ट्स ड्राइभरहरूले पहिलोपटक भारतको प्रतिष्ठित मद्रास अन्तराष्ट्रिय ट्रयाकमा रेसिङ र प्रशिक्षण गर्ने अवसर पाउने भएका छन्।
थाइल्यान्डको चियाङ्माइमा यही अक्टोबर ८ देखि १० तारिखसम्म चलिरहेको एफाआईए एशिया प्यासिफिक कांग्रेसका क्रममा यो सहकार्यको घोषणा गरिएको हो।
फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई)का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोर्ट्स क्लब(एमएमएससी)का निर्देशक विक्की चान्धोकले उक्त घोषणा गरेका हुन्।
सहकार्य नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को प्रस्तावमा क्षेत्रीय साझेदारीका रूपमा अघि बढाइएको हो।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र चान्धोकबीच भएको समझदारी अनुसार प्रत्येक वर्ष तीन वटा विशेष कार्यक्रम मद्रास ट्रयाकमा आयोजना गरिनेछन् जसअन्तर्गत मोटरसाइकल रेसिङ, कार्टिङ र मार्शल प्रशिक्षण हुनेछ।
सो कार्यक्रम अन्तर्गत १६ जना नेपाली राइडरले दुई दिने प्रशिक्षणसहितको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
ट्रयाक, मेसिन र सम्पूर्ण ग्राउण्ड खर्च एमएमएससीले निःशुल्क उपलब्ध गराउनेछ भने सहभागी छनोट, लाइसेन्सिङ र व्यवस्थापनको जिम्मेवारी नासा नेपालले लिनेछ।
त्यस्तै १६ जना कार्ट्स ड्राइभर र दुई जना प्राविधिकलाई “नासा नेपाल एफएमएससीआई कार्टिङ च्याम्पियनसिप” अन्तर्गत व्यावहारिक तथा प्रतियोगितात्मक अनुभव दिलाइनेछ।
यसको साथै रेसिङ सञ्चालनका लागि दक्ष मार्शलहरूको अभिमुखीकरण पनि गरिने योजना रहेको छ।
नासा नेपालका सचिव सन्तोष न्यौपानेका अनुसार, यो सहकार्य नेपाली मोटरस्पोर्ट्सको दीगो विकासका लागि ऐतिहासिक अवसर भएको जानकारी दिएका छन्।
उनले भने, “नेपालमा हालसम्म व्यवस्थित रेसिङ ट्रयाकको अभाव छ। यस्तो अवस्थामा मित्रराष्ट्र भारतको सहयोगले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवेश गर्ने बाटो खोल्नेछ।”
मद्रास मोटर स्पोर्ट्स क्लबका निर्देशक चान्धोकले पनि नेपालका युवा राइडर र ड्राइभरहरूलाई प्रशिक्षण र प्रतिस्पर्धाको प्लेटफर्म दिन पाउँदा खुशी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ(एफआईए)का अधिकारीहरूको उपस्थितिमा भएको सो घोषणा कार्यक्रममा सहभागी राष्ट्रहरूले यस सहकार्यको प्रशंसा गरेका छन्।
सन् १९५२ मा स्थापना भएको मद्रास मोटर स्पोर्ट्स क्लब एशियाकै पुरानो र प्रतिष्ठित मोटरस्पोर्ट्स संस्था हो। यसले फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लवस अफ इन्डियाको संस्थापक सदस्यको रूपमा योगदान गरेको छ।
यसैबीच, नासा नेपाल हाल एफआईए, एफआईएम(अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ) र यूआईएम (अन्तर्राष्ट्रिय पावरबोट महासंघ)मा आबद्ध संस्थामध्ये एक हो। यसले हालै ड्रोन र रोबोटिक खेलमार्फत एरियल मोटरस्पोर्ट्समा पनि प्रवेश गरेको छ।













