अश्विन २५, कैलाली
कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति रक्सी सेवनका क्रममा भएको झगडामा एकजनाको हत्या भएको छ। पसलमा रक्सी पिउँदै गर्दा आपसी विवाद बढेपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।
हत्या गर्नेहरू घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, “रक्सी पिएपछि सुरुमा गालीगलौज भएको र त्यसै क्रममा विवाद बढ्दै गएपछि विक र क्षेत्रीले धारिलो हतियार प्रयोग गरी बुढाको राति करिब ११ः४५ बजे हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।”
हत्या गरेपछि दुवै अभियुक्तले मृतकको टाउको लिएर आफन्तकहाँ पुगेका थिए। आफन्तले प्रहरीमा जानकारी दिन सुझाव दिएपछि उनीहरू प्रहरी कार्यालय आइपुगेका थिए।
“उनीहरू हातमा टाउको बोकेर आउँदै गर्दा नै नियन्त्रणमा लिइएका हुन्,” डीएसपी सिंहले बताए।
प्रहरीका अनुसार, मृतक र आरोपीबीच पहिले परिचय थिएन। पसलमा रक्सी पिउँदै गर्दा गालीगलौजको आवेशमा घटना घटेको अनुमान गरिएको छ। हाल दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









