असोज २७, काठमाडौं ।।
ओमानमा जारी आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ।
नेपालले हिजो भएको रोमाञ्चक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई एक रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको थियो। उक्त जितसँगै नेपाल विश्वकपको नजिक पुगेको छ।
हिजोको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सकेको थियो।
दुई खेलमा दुई जित निकाल्दै नेपाल अहिले चार अंकसहित दोस्रो स्थानमा छ। समान अंकसहित ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई दुई अंकका साथ तेस्रो स्थानमा छ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।
यस्तै नेपालले बुधबार ओमान र आउँदो शुक्रबार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष तीन मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।













