असोज ३९, काठमाडौं ।।
एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोट अन्तर्गत नेपालले बुधबार(आज)पहिलो खेल तुर्कमेनिस्तानसँग खेल्दैछ।
थाइल्यान्डको चोनबुरी रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ। यस प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । यो समूहमा आयोजक थाइल्यान्ड र तुर्कमेनिस्तान पनि रहेका छन्।
समूहका सबै खेलहरू थाइल्यान्डमै हुनेछन्। प्रशिक्षक रन्जिता श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीले पछिल्ला हप्ता प्रशिक्षण शिविर र अभ्यास खेलहरूमा मनोबल उच्च बनाएको छ।
टोलीले आक्रमण र रक्षा दुवै पक्षमा सन्तुलन कायम गर्दै जित निकाल्ने तयारी गरेको बताइएको छ।
त्यस्तै नेपालले दोस्रो खेल शुक्रबार घरेलु टोली थाइल्यान्डसँग खेल्दै छ।
समूह ‘एफ’ मा शीर्ष स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा चीनमा हुने एएफसी यू–१७ महिला एशियन कपको मुख्य चरणमा स्थान बनाउनेछ।













