असोज ३०, नेपालगञ्ज ।।
“दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५” हुने भएको छ। नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा उक्त राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता आगामी कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा हुनेछ। क्लबका अध्यक्ष केशवराज न्यौपानेले पत्रकार सम्मेलनको आयोजना गर्दै यस प्रतियोगिताबारे जानकारी दिएको हो ।
सो प्रतियोगितामा देशभरका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने अध्यक्ष न्यौपानेले बताए ।
विषेशगरी प्रतियोगिता विद्यालय लक्षित भएकाले ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुला उमेर समूहमा पनि प्रतिस्पर्धा हुनेछ।
यू-८ उमेर समूहका खेलाडीले २५ मिटर, यू-१० ले ५० मिटर, यू-१२ र यू-१४ ले ५० र १०० मिटर र खुला उमेर समूहले २०० र ४०० मिटर दुरीका विभिन्न ५६ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
पौडी प्रशिक्षक चन्दुराम चौधरीका अनुसार प्रतियोगिता नेपाल पौडी संघको केन्द्रीय वार्षिक क्यालेन्डर अनुसार आयोजना भएकाले राष्ट्रिय रेकर्डको मान्यता पनि प्राप्त हुनेछ।
त्यस्तै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कारसमेत प्रदान गरिनेछ।













