अरब सागरको प्रभाव : देशभर मौसम बदली, गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना
  • प्रमुख खबर

कार्तिक ११, काठमाडौं ।।
पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदलीको स्थिति छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ।

महाशाखाले दिएको जानकारी अनुसार मंगलबार(आज) दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशको मौसम बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा भारी वर्षासहित हिमपात हुन सक्ने भएकाले जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले हिमाली र उच्च पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

भारी वर्षा र हिमपातका कारण यातायात, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्ने सम्भावना रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्